विशेषअधिकारसहितको स्वायत्त कर्णाली प्रदेश र त्यहाँका जनताका जनजिविकासम्बन्धी माग पुरा गर्न माग गर्दै कर्णालीवासीले मंगलबार ( आज) प्रधानमन्त्री कार्यालय अगाडि एक घण्टा धर्ना दिएका छन् । कार्यालयको मुख्य गेटमा आयोजित धर्नामा कर्णालीवाट प्रतिनिधित्व गर्ने सभासद, नागरिक समाज, पत्रकार, बुद्धिजिवी एवं कर्णालीप्रति चिन्ता चासो राख्ने सयौं कर्णालीवासीहरु सहभागि थिए ।
जुम्लाका सभासद नरेश भण्डारीको संयोजकत्वमा गठित संघर्ष समितिले गत चैत १ गते प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ८ सुत्रीय माग राखेर १० दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो । गत चैत १३ गते आप्mना मागबारे पुनः स्मरण गर्दै समितिले माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको थियो ।
धर्ना कायक्रमलाई सम्बोधन गर्दै सभासद नरेश भण्डारीले कर्णालीका गम्भीर मुद्धाप्रति राज्य अझै गम्भीर नभए जिवनमरणको संघर्षमा उत्रन सम्पूर्ण कर्णालीवासी तयार हुने बताए । ‘हाम्रो संयमतालाई कमजोरी ठानिए राज्यले ठूलो मूल्य चुकाउनुपर्ने छ, चेतावनी दिँदै भण्डारीले भने ।
यिनै मागहरु सम्बोधन गर्न समितिले बुधबार संविधानसभा भवन अगाडि १ घण्टा धर्ना दिँदैछ । यसका साथै बुधबार नै कर्णालीका पाँचवटै जिल्लाका सबै सरकारी कार्यालयमा कर्मचारीहरुले पेन डाउन गर्ने कार्यक्रम रहेको संघर्ष समितिका सचिवालय सदस्य जन्मदेव जैसीले बताए । जैसीका अनुसार पहिलो चरणका कार्यक्रम अन्तर्गत विहिबार मूख्य दलका केन्द्रीय कार्यालयमा १ घण्टा धर्ना दिने, बैशाख ५ गते प्रमुख दलका शिर्ष नेताहरुसहितको बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिनेछ ।
No comments:
Post a Comment
Please, comment about this article.