कर्णाली अन्चलको कालीकोट जिल्ला जुविथा ६ माईधारमा आईतवार साझ चुलो छोएको आरोपमा स्थानीयको कुटपिटका कारण स्थानीय मनविरे सुनारको मृत्यु भएको छ । स्थानीय जसबहादुर शाहीको चिया पसलमा सुनारले चुरोट सल्काएका कारण स्थानीय मिनबहादुर शाही र दीपबहादुर शाहीले कुटपीट गर्दा जुविथा ४ का ३१ बर्षीय सुनारको मृत्यु भएको हो । एक मात्र छोराको मृत्युका कारण मृतकका बुबा बिरभद्र सुनार अझै पनि अचेत रहेका छन् । सो घटनाको मानवअधिकार पत्रकार संघ(हुर्जा) नेपाल र मानवअधिकार पत्रकार संघ(हुर्जा) कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घटनाले नेपालमा जातिय छुवाछुतको अवस्था अझै कति गम्भीर छ भन्ने कुरालाई इंगीत मात्र गरेको छैन जातिय छुवाछुत अन्त्य गर्ने बिषयमा राजधानी तथा मोफसलका सदरमुकाम एवं शहरमा मात्र गरिने ठुला ठुला गोष्ठी, सभा केवल कार्यक्रममा मात्र सीमित भएको पनि प्रष्ट भएको छ । हुर्जा नेपालका अध्यक्ष छत्रबहादुर शंकर, महासचिव गणेश प्रसाद घिमिरे र हुर्जा कास्कीका महासचिव वीरेन्द्र सापकोटाद्धारा संयुक्त रुपमा हस्ताक्षरित प्रेश विज्ञप्तिमा सो घटनाले संसदले केही महिना अघि मात्र पारित गरेका जातीय आधारमा हुने छुवाछुत अन्त्य गर्ने सम्बन्धि ऐन कार्यन्वयनमा सरकार कति निष्कृय छ भन्ने कुराको दरिलो आधार बनेको जनाईएको छ । समाजमा यस्तो विभेदलाई अन्त्य गर्न दलित र गैरदलितबीचको सहकार्य आवश्यक रहनुका साथै सरकारले पनि यसमा गम्भीर भएर लाग्नु जरुरी छ, जसले गर्दा यस्ता जातीय विभेदहरु समाजमा विस्तारै हराउदै जानेछन । संघले निकट भविष्यमा नै मुलुकमा विद्यमान जातीय विभेद अन्त्य गर्न हालै पारित भएको जातीय छुवाछुत सम्बन्धि ऐन सम्बन्धमा राष्ट्रब्यापी जनचेतना जगाउने अभियान संचालन गर्ने प्रतिवद्धता गर्दै र यस्ता विभेदका घटनामा संलग्नहरुलाई न्यायको कठघरामा ल्याउन यस अभियानले महत्वपूर्ण भुमिका खेल्ने विश्वास पनि ब्यतm गरेको छ । हुर्जा नेपालले तत्काल पीडित परिवारलाई १० हजार रुपैया नगद उपलब्ध गराउने घोषणा गर्दै उक्त घटनाको नेपाल सरकारसँग मानवअधिकारकर्मि सहितको छानविन टोलिको गठन, पिडित परिवारलाई पाँच लाख बराबरको क्षतिपुर्ति उपलब्ध गराउन माग समेत गरेको छ ।
No comments:
Post a Comment
Please, comment about this article.